Monday 22 March 2010

एस्ट्रे

मेरो एस्ट्रे ,
बिचारका कैयौँ घुम्तीसंगै
सोचका बिभिन्न हल्का, गरुङ्गा कठ्घरामा
सैयौँ शब्दका प्रहार सहदै
छेउमा बसेर
मेरो बैचारिक धुवाँमा रमाइरहेको छ
अाफूलाई मभित्र समाहित गराइरहेको छ ।।

कैयौँ हासोँका धुवाँ उडे
कैयौँ आसुँका धुवाँ उडे
कोठा धुम्मिएर,
बाफिएर ,
पत्पताउँदो भैरह्यो
मैले कोठा छोडीन
मेरो एस्ट्रे मैसँग रमाइरह्यो
अाफूलाई मभित्र समाहित गराइरह्यो ।

कैयौँ सन्दर्भ उठे
हार र जीतका उथलपुथलमा
सर्को तनिरह्यो सोचले
नौलो अनुभुती जन्माइरह्यो
कलमले
सेता पानामा
भावनाका उच्छ्वास पोखिरहँदा
मेरो एस्ट्रे
मैजस्तो दिग्भ्रमित बनिरहेको थियो
भावना पोखिन छोडेन
सुगन्धले कोठा मग्मगाइरह्यो
मैले कोठा छोडिन

मेरो एस्ट्रे मैसँग रमाइरह्यो
अाफूलाई मभित्र समाहित गराइरह्यो ।

कसको साथ यति अटुट होला र
कसको माया यति बेजोड होला र
मैले कोठा छोडिन
उसले मलाई छोडेन
मेरो एस्ट्रे मैसँग रमाइरह्यो
अाफूलाई मभित्र समाहित गराइरह्यो ।           बिशेष 'बिस्थापित'


No comments:

Post a Comment

Followers